काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्रधानमन्त्री पद रहरले नभइ जनताको आवाज र परिस्थितिको परिणामस्वरूप प्राप्त भएको स्पष्ट पारिन्।
आइतबार बिहान पदभार ग्रहण गर्ने अवसरमा सम्बोधन गर्दै उनले भनिन्, ‘म रहरले प्रधानमन्त्री बन्ने उद्देश्य लिएर आएको छैन। सबैभन्दा ठूलो दबाब र आग्रह जनता तथा विभिन्न पक्षबाट आयो, त्यसैले विवश भएर जिम्मेवारी ग्रहण गर्न पुगेकी हुँ। यो पदको रसस्वादन गर्न होइन, उमेर पनि यो जिम्मेवारीका लागि पर्याप्त छैन।’
प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् कि वर्तमान सरकार कुनै हालतमा ६ महिनाभन्दा बढी बस्ने छैन। ‘हामीले जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ निर्वाचित मन्त्रीहरूलाई यो जिम्मेवारी सुम्पिने अठोट गरेका छौँ। सबैको सहयोग आवश्यक छ,’ उनले भनिन्।
उनले देशमा हालै भएको आन्दोलनलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्दै भनिन्, ‘२७ घन्टाको आन्दोलनले मुलुकमा वास्तविक परिवर्तन ल्यायो। अब समयले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र आर्थिक समानताको माग गरेको छ।’
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया