काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई काठमाडौंमा बस्दा हुने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार पदभार ग्रहणपछि आयोजित सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयको जानकारी दिइन्।
उनका अनुसार राजधानीमा रहेका मृतकका परिवारलाई आवास, भोजन र अन्य खर्च सरकारले व्यहोर्नेछ। साथै, मृतकको शव आफ्नो स्थानीय क्षेत्रमा लैजान चाहने परिवारलाई सवारी साधनको व्यवस्था गर्ने व्यवस्था मिलाइएको पनि उनले बताइन्।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइते भएकाहरू दीर्घकालीन रूपमा अपांगताको परिभाषाभित्र परे उपचार सुविधा उपलब्ध गराइने निर्णय भएको उल्लेख गरिन्। “यदि घाइते अपांगको परिभाषाभित्र परे भने पछि पनि उपचारको सुविधा दिने व्यवस्था हुनेछ,” उनले भनिन्।
यससँगै, निजी क्षेत्रलाई पनि सहयोगका लागि आग्रह गरिएको प्रधानमन्त्रीको भनाइ छ। “प्राइभेट सेक्टरमार्फत पनि सहयोग जुटाउन सकिन्छ कि भनेर हाम्रो प्रयास भइरहेको छ,” उनले बताइन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया