काठमाडौं । अमेरिकाको सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन केही समयका लागि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनले स्पेसएक्स र टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै बुधबार बिहान बिलेनियर्स सूचीको शीर्ष स्थानमा कब्जा जमाएका थिए।

ब्लूम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, बुधबार बिहान एलिसनको सम्पत्ति ३ खर्ब ९३ अर्ब डलर पुगेको थियो, जबकि मस्कको सम्पत्ति ३ खर्ब ८५ अर्ब डलरमा सीमित थियो।

advertisement

ओरेकलको क्लाउड पूर्वाधार व्यवसाय र कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा आएको व्यावसायिक सफलता तथा कम्पनीको शेयरमा ४० प्रतिशतभन्दा बढी वृद्धि भएकोले एलिसनको सम्पत्ति किर्तिमानी स्तरमा पुगेको हो। एलिसनको सम्पत्तिको अधिकांश हिस्सा ओरेकलको शेयरमा आधारित छ।

तर दिनको अन्त्यसम्म कम्पनीको शेयर मूल्यमा केही गिरावट आएपछि एलिसन फेरि मस्कभन्दा तल झरेका छन्।

यसैबीच, ओरेकलको शेयर मूल्य उल्लेख्य वृद्धि भइरहेकाले कम्पनी चम्किएको छ भने मस्कको टेस्ला कम्पनीको शेयर मूल्य यो वर्ष सुरुदेखि नै गिरावटमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको राजनीतिक नजिकिता र त्यसका कारण उपभोक्ता तथा लगानीकर्तामा परेको नकारात्मक प्रभावसँगै विद्युतीय गाडी प्रवर्द्धनमा अमेरिकी सरकारको सहयोग घट्दा टेस्ला प्रभावित भएको विश्लेषकहरूको मत छ।

ओरेकलको क्लाउड र डेटा सेन्टर पूर्वाधारको माग तीव्र रूपमा बढ्दा कम्पनीको व्यवसाय मजबुत भएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको चौमासिक वित्तीय रिपोर्ट अनुसार, यो वर्षको क्लाउड व्यवसाय ७७ प्रतिशतले वृद्धि भई १८ अर्ब डलर पुग्ने अनुमान छ। आगामी वर्षहरूमा यो वृद्धि अझै उच्च हुने देखिएको छ।

कम्पनीका अनुसार, AI कम्पनीहरूको डेटा सेन्टर पूर्वाधारको मागमा तीव्र वृद्धि हुँदा शेयर मूल्य नाटकीय रूपमा उकालो लागेको छ। हालको चौमासिक अवधिमा ओरेकलले डेटा सेन्टर पूर्वाधार क्षेत्रमा विभिन्न कम्पनीहरूसँग अर्बौँ डलरका सम्झौता गरिसकेको छ।

हाल ८१ वर्ष उमेरका एलिसनले सन् १९७७ मा ओरेकलको स्थापना गरेका थिए। उनी सन् १९९० को दशकमा डेटाबेस कम्पनीको मालिकका रूपमा चर्चित भए र टेक उद्योगका धनी टाइकूनका रूपमा परिचित भएका थिए। उनी २०१४ सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकारी थिए र हाल अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत छन्।

एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र पनि हुन्। गत जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु हुँदा एलिसन, ओपनएआईका साम अल्टम्यान र सफ्टबैंकका मासेओशी सन स्टारगेट परियोजनाको घोषणा कार्यक्रममा उपस्थित थिए। यो परियोजना अमेरिकामा AI पूर्वाधार विकासका लागि रहेको छ।

त्यस्तै, अमेरिकी सरकारले देशमा चिनियाँ एप टिकटकको बिक्रीमा अल्टिमेटम दिँदै गर्दा ओरेकल सम्भावित खरिदकर्ताको रूपमा देखा परेको छ। गत जनवरीमा ट्रम्पले पनि ल्यारी एलिसनलाई टिकटक खरीद गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com