काठमाडौं । सरकारले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आजको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले ६ बुँदे योजनासहित विभिन्न व्यवस्था अघि बढाउने पनि जानकारी दिएको छ।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष र अन्य सरोकारवाला सहभागी हुनेछन्।
बैठकले चाडपर्वमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच र आवश्यकताअनुसार यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार, समिति वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यात्रुहरुलाई गन्तव्यसम्म सहजै पुग्ने व्यवस्था गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सबै सरोकारवालासँग समन्वय गरी काम गर्नेछ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयको यकिन गरी उचित क्षतिपूर्ति प्रदान गर्ने, ट्राफिक प्रहरीले आवश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने व्यवस्था पनि बैठकले गरेको छ।आन्दोलनका क्रममा लुटपाट भएका हतियार तथा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको सिटौलाले जानकारी दिएका छन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया