काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेपछि सामाजिक सञ्जालमा उनको कदमबारे मिश्रित प्रतिक्रिया आएको छ। केहीले उनलाई साहसी भनेर समर्थन जनाए भने केहीले ‘अवसरवादी’को आरोप समेत लगाए।

यस्तो प्रतिक्रिया आएपछि श्रेष्ठ सामाजिक सञ्जालमार्फत् उनले आफूले परिवर्तनको एजेन्डा छोडेको नभई, पार्टीभित्र रहेर काम गर्न नसक्ने परिस्थिति आएकाले बाहिर निस्कनुपरेको स्पष्ट पारिन्।

advertisement

निर्णयबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनिन्, ‘मैले मन्त्री पदको मोहमा पार्टी छोडेकी होइन। भित्रै रहेर गर्न नसकेको काम अब म तपाईंहरूमाझ आएर गर्न चाहन्छु।’ उनले पार्टीभित्र र बाहिरबाट निरन्तर साथ दिने सबैलाई धन्यवाद दिंदै आफू बोकेको परिवर्तनको एजेन्डा जेन–जी पुस्ताले सडकमा उठाएको सुनाइन्।

उनका अनुसार, अहिलेको आन्दोलनलाई सफल पार्न सबैको साथ आवश्यक छ। ‘यो युवा पुस्ताले उठाएको विद्रोह हो। आजसम्म ७२ जना युवाले जीवन गुमाइसकेका छन्। उनीहरूको बलिदानलाई बदनाम गर्ने ‘स्मेयर क्याम्पेन’ कसैले गर्न दिनुहुन्न,’श्रेष्ठले भनिन्।

उनले आन्दोलनलाई निष्कर्षमा पुर्‍याएर बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिइन्। पार्टी छोड्नुको कारणबारे थप प्रस्ट्याउँदै श्रेष्ठले भनिन्, ‘मसँगको उद्देश्य परिवर्तन भएको होइन, काम गर्ने स्थान मात्र फेरिएको हो। परिवर्तनको एजेन्डा मैले छोडेकी छैन।’

साथै, उनले पुराना दलका तेस्रो, चौथो र पाँचौँ पुस्ताका नेताहरूलाई डराएर नबस्न र परिवर्तनको पक्षमा उभिन आह्वान गरिन्। ‘कति समय डराउने? किन डराउने? आखिर परिवर्तन नै हाम्रो चाहना हो। अब वा त आफैँ हट्नुस्, वा हटाउन दिनुस्,’ उनले भनिन्।

श्रेष्ठले सबैभन्दा पहिले नेपाली भएको पहिचानलाई स्मरण गर्दै वर्तमान संकटमा दलभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको बताइन्। ‘हामी सबैभन्दा पहिले नेपाली हौं। नेपाल गम्भीर संकटमा छ। यसलाई अर्को स्तरमा लैजाने जिम्मेवारी तपाईं हाम्रै हो, यसलाई नबिर्सौं,’ उनले भनिन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com