सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनको नाममा केही समूहले व्यक्तिगत प्रतिशोध र स्वार्थपूर्ति गर्ने गतिविधि अघि बढाएको आरोप लगाएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनकै आडमा निजी तथा सरकारी भवनदेखि सवारीसाधनसम्म तोडफोड र आगजनी भएको जानकारी दिए।

मुख्यमन्त्री कँडेलले आन्दोलनमा सहभागी भएका धेरैलाई वास्तविक उद्देश्य थाहा नहुँदा पनि केही तत्त्वले व्यावसायिक फाइदा उठाउन आन्दोलनलाई प्रयोग गरेको दाबी गरे। उनले गणतन्त्र स्थापनाको क्रममा राजनीतिक दलहरूले जनउत्तरदायित्वभन्दा सत्तालाई प्राथमिकता दिएको स्वीकार गर्दै विकास र समृद्धिमा ध्यान नदिँदा अहिले समर्थक भेट्न कठिन भएको टिप्पणी गरे।

advertisement

उनका अनुसार जेन–जी आन्दोलनका मागभित्र सुशासन र भ्रष्टाचारविरोधी आवाज प्रशंसनीय भए पनि हिंसा, आगजनी र तोडफोड जस्ता गतिविधि स्वीकार्य छैनन्। “कतिपय माग अनुकरणीय छन्, तर त्यसकै नाममा हिंसा र अव्यवस्था फैलाउनु गलत हो,” उनले स्पष्ट पारे।

कँडेलले बेरोजगार युवालाई भड्काएर हिंसात्मक क्रियाकलापमा धकेल्ने प्रवृत्ति अस्वीकार्य भएको बताउँदै, उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन सामूहिक पहल अपरिहार्य रहेकोमा जोड दिए। साथै, प्रदेशभित्र भएको क्षतिको अभिलेख राख्न थालिएको र संघीय सरकारले समेत क्षतिको आकलन सुरु गरिसकेको जानकारी दिए।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com