काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्।
प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रत्यक्ष सम्पर्क गर्न गरेका प्रयास सफल नभएपछि उनले सोमबार फेसबुकमार्फत सार्वजनिक सन्देश लेखेका हुन्। श्रेष्ठले फोन तथा नजिकका व्यक्तिहरूमार्फत पनि बधाई र सुझाव दिन खोजेपनि सम्पर्क नजुटेपछि सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्न बाध्य भएको उल्लेख गरेका छन्।
श्रेष्ठले दिएका सुझावमा ६ बुँदा छन्।
- उनले प्रधानमन्त्रीलाई दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान र क्षमतावान व्यक्तिहरूलाई मन्त्री बनाएर मन्त्रिपरिषद् छिट्टै पूर्णता दिन आग्रह गरेका छन्।
- साथै शान्ति-सुरक्षा कायम गर्दै निर्धारित मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारलाई केन्द्रित हुनुपर्ने बताएका छन्।
- उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, ध्वस्त संरचनाको पुनःनिर्माण सुरु गर्न र भ्रष्टाचारविरुद्धका अघिल्ला कदमलाई निरन्तरता दिँदै सुशासन अभियान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
- साथै प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभामार्फत संघीय संसद्को भूमिका प्रभावकारी बनाउनुपर्ने सुझावसमेत दिएका छन्।
- प्रधानमन्त्रीलाई निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गर्दै श्रेष्ठले चेतावनी स्वरुप भनेका छन्, यदि सरकार असफल भयो र निर्धारित मितिमा निर्वाचन सम्पन्न भएन भने देश गम्भीर संकटमा पर्न सक्छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया