विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ। सोमबार दिउँसो दोस्रो तल्लामा भेटिएको शव पूर्ण रूपमा जलेको र पहिचान गर्न कठिन भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार हालैको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीकै बीच लुटपाट गर्न भित्र पसेका व्यक्तिमध्ये कोही जलेर मृत्यु भएको हुन सक्छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालका अनुसार घटनास्थलमा पुगेर मुचुल्का उठाइसकिएको छ। “शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ र थप अनुसन्धान भइरहेको छ,” उनले बताइन्।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सुपरमार्केटमा एटिएम तोडफोड गर्न खोज्दा असफल भएपछि आगजनी गरेका थिए। त्यस क्रममा सम्पूर्ण सुपरमार्केट जलेर नष्ट भएको थियो।
प्रहरीले आगलागीका बेला अन्य व्यक्तिहरु समेत फसेको वा हराएको हुनसक्ने आशंकामा खोजतलास कार्य जारी राखेको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया