काठमाडौँ । नेपाली कांग्रेसले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्ने भएको छ। पार्टीका केन्द्रीय कार्यालयदेखि स्थानीय संरचना हुँदै नेताहरुका निवाससम्म आगजनी र तोडफोड भएकाले औपचारिक तथ्यांक संकलन सुरु गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आन्दोलनका क्रममा पार्टीको केन्द्रीय कार्यालय समेत जलेर ध्वस्त भएकाले सोमबारसम्म नियमित कामकाज ठप्प भएको थियो। उनका अनुसार, अस्थायी संरचना निर्माण गरेर मंगलबारदेखि मुलुकभरका पार्टी कार्यालय र सम्पत्तिमा भएको क्षतिको विवरण संकलन थालिनेछ।

advertisement

आन्दोलनमा केन्द्रीय कार्यालय मात्र नभई अधिकांश प्रदेश तथा जिल्ला कार्यालयसमेत जलेर नष्ट भएका छन्। त्यस्तै, विभिन्न कालखण्डमा मन्त्री बनेका नेताहरुका निजी निवासमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन्।

पार्टीका सभापति शेरबहादुर देउवा र उनकी पत्नी, केन्द्रीय सदस्य डा. आरजु राणामाथि समेत आन्दोलनकारीले बुढानीलकण्ठस्थित निवासमै कुटपिट गरेका थिए। उनीहरूको हाल उपचार भइरहेको छ भने देउवा निवाससमेत जलेर ध्वस्त भएको छ।

पौडेलका अनुसार हालसम्म कति संरचनामा क्षति पुगेको भन्ने यकिन तथ्यांक तयार नभएको र विवरण संकलनपछि मात्रै स्पष्ट हुने बताइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com