काठमाडौं । गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा भएको बल प्रयोगबारे निष्पक्ष छानबिनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले मुलुकलाई सामान्य अवस्थामा फर्काउन र कानूनी राज्यलाई पुनःस्थापित गर्न सो घटनाको छानबिन अपरिहार्य भएको बताए।
गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यस क्रममा भएका जनधनको क्षति सम्बोधन गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्ताले अघि सारेका मागअनुसार सरकारले काम गर्नुपर्ने पनि स्पष्ट पारे।
उनले भने, ‘सबैभन्दा पहिले मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारलाई सहयोग, घाइतेहरूको उपचार, शहीद घोषणा भएकाहरूलाई योग्य मान–सम्मान दिने काम तत्काल प्राथमिकतामा छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको छ। शोक दिवस मनाउने लगायतका पहलहरू पनि सरकारको तयारीमा छन्।’
उनले थपे, ‘हाम्रा आफ्नै छोराछोरी आन्दोलनमा मारिएका छन्। धेरैले धनजन गुमाएका छन्। त्यसैले अधिक बल प्रयोग, अधिकार दुरुपयोग र स्वतन्त्रतामा भएको क्षतिको निष्पक्ष जाँचबुझ अनिवार्य छ। रूल अफ ल पुनर्स्थापना गर्न हामी सबै मिलेर लाग्नुपर्छ।’
मन्त्री अर्यालले आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूप्रति सरकारले कुनै कमी हुन नदिने स्पष्ट गर्दै, पीडित परिवारलाई न्याय र सम्मान दिलाउन राज्यका संयन्त्रहरू सक्रिय रहने बताए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया