काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनले हासिल गरेको उपलब्धि कुनै हालतमा गुमाउन नहुने भन्दै अन्तरिम सरकारलाई सहयोग पुर्याउँदै तोकिएको मितिमै चुनाव सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आगजनीले क्षतिग्रस्त बनेको भवनको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले निर्वाचनमा छिटो र एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।
उनले भने, ‘देशमा अन्तिम सरकार बनेको छ र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब हामीले त्यसै मार्गबाट छिटोभन्दा छिटो चुनाव सम्पन्न गर्न एकजुट हुनुपर्छ। अहिले अन्य विकल्पको कुरा गर्नुको आवश्यकता छैन। यदि सरकारले असफल भयो र तोकिएको मितिमा चुनाव भएन भने देश गम्भीर संकटमा पर्छ।’
श्रेष्ठले जेएनजीको प्रस्तावअनुसार दलहरूको सहमतिमा अन्तरिम सरकार गठन गर्ने प्रयास असफल भएको पनि बताए। उनले थपे, ‘दलहरूसहितको सहमतिबाट अगाडि बढ्ने हाम्रो प्रस्ताव वार्तामा सफल भएन। राष्ट्रपतिले धारा ६१ अनुसार अन्तरिम सरकार गठन गर्नुभएको छ, त्यसै बाटोबाट छिटो निर्वाचन सम्पन्न गर्न हामी सबैले एकजुट हुनैपर्छ।’
उनले समाधानका लागि राम्रो सुझाव दिँदै आएको भए पनि तत्काल कुनै प्रभावकारी समाधान नआएको जानकारी गराए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया