काठमाडौं । लगातार वर्षा जारी रहँदा देशका विभिन्न जिल्लामा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीसहितका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि बबई नदी सतर्कता तह नजिक पुगेको र अझै बढ्ने संकेत देखिएको छ।
साना नदीका हकमा आज रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढी आउन सक्ने उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी र दार्चुलामा पनि केही साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
कुल ३३ जिल्ला र आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया