काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहपछि आतंकित बनेको काठमाडौं उपत्यका क्रमशः सामान्य अवस्थामा फर्किएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध भएको विरोध प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनका क्रममा १९ जनाको ज्यान गएको थियो।

दमनपश्चात आन्दोलन उग्रिँदै जाँदा प्रदर्शनकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितका प्रमुख प्रशासकीय भवन कब्जा गरी क्षति पुर्‍याए। साथै, राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यापारी भवन र विभिन्न सरकारी सम्पत्तिमा समेत आगजनी गरेका थिए।

advertisement

उच्च सुरक्षा चुनौतीपछि नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री ओली, मन्त्रीहरू र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई विशेष सुरक्षा दिएको थियो।

भदौ २४ गते बिहान सेनाले ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट उद्धार गरी शिवपुरी ब्यारेकमा पुर्‍याएको थियो। त्यही दिन सिंहदरबारमा विपक्षी दलको बैठकमा रहेका प्रचण्ड र माधवकुमार नेपाललाई समेत सेनाले उद्धार गरी सुरक्षित स्थलमा राखेको थियो।

कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा बुढानीलकण्ठस्थित निवासमै रहेका बेला प्रदर्शनकारीले घरमा आगजनी गरेका थिए। सेनाले दुबैलाई आक्रमणपछि गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा समेत आक्रमण हुँदा उनकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन्। त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा पनि आगजनी भए पनि उनी आफन्तको घरमा बसेका थिए, ब्यारेकमा गएका थिएनन्।

ओली र देउवा बाहेक आइतबार र सोमबार क्रमशः अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पार्टी गतिविधि र व्यक्तिगत काममा फर्किएको उच्च स्रोतले जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com