काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था र नेतृत्वशैलीप्रति कडा असन्तोष व्यक्त गरेका छन्। उनले पार्टीभित्र आत्मसमीक्षा, पारदर्शिता र नवनिर्माणको आवश्यकता अपरिहार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक विचारमा डा. शर्माले नेतृत्वको असफलता, गुटबन्दी, भ्रष्टाचार र असमान सेवाप्रवाहलाई काँग्रेसको प्रमुख समस्या ठहर गर्दै भनेका छन्, “पार्टीको अपजसको दोष केवल सभापतिमाथि मात्र थोपार्न मिल्दैन, हामी सबै यसको हिस्सेदार हौं।”
उनका अनुसार नेपाली कांग्रेसको गौरवशाली इतिहासमा आजको स्थिति ‘लाजमर्दो’ अवस्थामा पुगेको छ। बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले बनाएको ऐतिहासिक पहिचान आजको काँग्रेसमा हराएको उनको टिप्पणी छ।
शर्माले मुलुकको वर्तमान अवस्था चित्रण गर्दै भने, “आम नागरिक दुई छाक खान र सामान्य औषधि खोज्दै भौतारिरहेका छन्, बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू भोजभतेर र गाडीको लस्करमा रमाइरहेका छन्।”
जिल्लास्तरीय कार्यक्रममा हुने अत्यधिक खर्च, मदिरा–मासुको तामझाम, देखावटी शक्ति प्रदर्शन र पार्टी केन्द्रीय कार्यालयमा सञ्चालन हुने गुटगत गतिविधिप्रति पनि उनले कडा प्रश्न उठाए। पार्टीभित्रको आर्थिक अनियमितता, विदेशी वा ठेक्कामार्फत आएको पैसाको अपारदर्शिता र नेतृत्वको मौनता भ्रष्टाचारप्रतिको मौन स्वीकृति भएको उनले आरोप लगाए।
शिक्षा क्षेत्रमा देखिएको सिन्डिकेट, निजी विद्यालय तथा नर्सिङ कलेजमाथि गरिएको दमन, साथै गैरआवासीय नेपालीहरूमाथि गरिएको ‘अनागरिक व्यवहार’लाई पनि शर्माले लज्जास्पद भन्दै आलोचना गरे।
संसदमा जनताको आक्रोश प्रवेश गर्नु लोकतन्त्रकै मृत्युको संकेत भएको चेतावनी दिंदै उनले भने, “जनताको आवाज अब थुन्न सकिँदैन।”
गुटबन्दी, योगदानकर्तामाथि कारबाही गर्ने प्रवृत्ति, पद बाँडफाँटमा योग्यता भन्दा गुटीय स्वार्थलाई प्राथमिकता दिने मानसिकता र पदाधिकारीहरूको मौनतालाई उनले ‘नेतृत्वको नैतिक पतन’का रूपमा व्याख्या गरे।
देशलाई विद्रोहतर्फ जान नदिन तत्कालै सुधारका एजेन्डा अघि सार्नुपर्ने भन्दै शर्माले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, भ्रष्ट न्यायाधीशको बर्खास्ती र कार्यकारी पदमा दुई कार्यकालको सीमा जस्ता विषयलाई अनिवार्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए।
हालको नेतृत्वले जिम्मेवारीलाई केवल सत्ताको खेल सम्झिरहेको अवस्थामा मुलुक र पार्टी दुवै अँध्यारोमै रहने चेतावनी दिँदै उनले निष्कर्ष निकाले, “आत्मसमीक्षा गरेर नयाँ पुस्तालाई अवसर नदिए काँग्रेस सुधारको बाटोमा लाग्न सक्दैन।”
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया