काठमाडौँ । घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरिएको छ। आज यातायात व्यवस्था विभागमा सरोकार भएका निकायहरूको बैठकमा दसैँको अवसरमा सार्वजनिक यातायातको सहज सञ्चालनका लागि रुट परमिट खुला गर्ने सहमति भएको हो।
बैठकले चाडपर्वको बेला यातायात सेवा सुचारु र व्यवस्थित रूपमा सञ्चालन गर्न सार्वजनिक यातायात सेवा प्रदायकलाई मध्य र लामो दूरीका सवारीमा अग्रिम टिकट बुकिङको व्यवस्था जारी राख्न निर्देशित गरेको छ।
त्यस्तै, यातायात व्यवसायीलाई टिकट बिक्रीका लागि अनलाइन बुकिङको विकल्पलाई प्रोत्साहन गर्ने र उपत्यकाबाट बाहिर जाने तथा फर्किने यात्रु सवारीसाधनको निगरानी गर्न सरोकार भएका निकायसँग सहकार्य गर्दै प्रभावकारी अनुगमन गर्न निर्णय गरिएको छ।
सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ र टिकट काउन्टरबाट यात्रुको परिचयपत्रसहितको चलानी लिनुपर्छ। यसैगरी, अनधिकृत काउन्टर र परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्नको लागि कदम चालिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार












प्रतिक्रिया