काठमाडौं । नेपाल सरकारले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि स्वरूप असोज १ गते (बुधबार) देशव्यापी सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार सो दिन सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहने छन्। साथै नेपालभरका कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
मन्त्रिपरिषद्ले जारी गरेको सूचनामा भनिएको छ, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकहरूको सम्मानस्वरूप नेपाल सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
उक्त आन्दोलनमा ७२ जनाले ज्यान गुमाएका थिए। आन्दोलन तीव्र बन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदत्याग गरेका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।
कार्की नेतृत्वको सरकार यसअघि नै आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकीसकेको छ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया