काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ सुमना श्रेष्ठप्रति दिएको आपत्तिजनक अभिव्यक्ति फिर्ता लिएका छन्। सोमबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफ्नो वक्तव्य गलत भएको स्वीकार्दै आत्मालोचना गरेका हुन्।
केही दिनअघि भएको भर्चुअल बैठकमा सुमना श्रेष्ठ, हरि ढकाल र गणेश कार्कीबीच तीव्र वादविवाद भएको थियो। सभापति रवि लामिछाने कारागारबाट बाहिरिएको विषयमा सुमनाले प्रश्न उठाउँदा ढकाल उनीमाथि प्रहार गरेका थिए। त्यस क्रममा उनले ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गर्दै सभापतिको विरोध गर्नेले पार्टी छोड्नुपर्ने अभिव्यक्ति दिएका थिए।
यही वाक्यवाजीको केही दिनमै सुमना श्रेष्ठले पार्टी त्याग गरेपछि ढकालको भनाइलाई लिएर भित्रभित्रै असन्तुष्टि बढेको थियो। सोमबारको बैठकमा ढकाल स्वयंले विषय उठाउँदै आफू भावावेशमा परेर बोल्न पुगेको स्वीकार गरेका र क्षमा मागेको स्रोतले जनाएको छ। असन्तुष्ट नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् भने वरिष्ठ नेताहरु पनि मौन रहे।
सोही बैठकले असोज २ गतेदेखि पार्टीका नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। साथै आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको सरसफाइ र पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने पनि रास्वपाको निर्णय छ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया