काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले भदौ २३–२४ गतेका जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार उक्त निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको भए पनि मंगलबार मात्रै मन्त्रालयमा पुगेको हो। अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको संख्या ७३ रहेको छ।
निर्णयअनुसार मृतकका परिवारले राहत पाउन प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा पुष्टिकृत सूची गृह मन्त्रालयमा पेश गर्नु पर्ने छ। प्रहरीले मृत्यु आन्दोलनमा भएको पुष्टि गरेपछि मृतकको स्थायी बासस्थानको जिल्ला प्रशासन कार्यालयले त्यस जानकारी गृह मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले प्राप्त प्रतिवेदन र कागजातका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ।
मन्त्रिपरिषद्ले प्रदर्शनका क्रममा घाइते भएकालाई निःशुल्क उपचार उपलब्ध गराउने, असोज १ गते राष्ट्रिय शोक मनाउने तथा काठमाडौँमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयमार्फत अघि बढाउने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया