काठमाडौँ । यसपालिको दसैंमा अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय भएको छ। देशको पछिल्लो विषम परिस्थितिका कारण बुकिङ औपचारिक रूपमा नखोलिए पनि यात्रुहरूलाई टिकट र बसको अभाव नहोस् भन्नेतर्फ आवश्यक व्यवस्था गरिने यातायात व्यवसायीहरूले जनाएका छन्।
गोंगबुस्थित नयाँ बसपार्कबाट केही दिनमै ५० हजारभन्दा बढी यात्रु बाहिरिएको व्यवसायीहरूको दाबी छ। सरकारी क्याम्पसहरू बन्द भएकाले उपत्यकाबाट पूर्व–पश्चिमतर्फ जाने यात्रुको चाप बढेको देखिन्छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भने, “धेरै यात्रु पहिले नै बाहिरिइसकेका छन्, त्यसैले यसपटक छुट्टै अग्रिम बुकिङ वा विशेष काउन्टरको आवश्यक देखिएन।”
यसै विषयमा मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायबीच छलफल भएको थियो। छलफलमा मुख्य रूपमा सडक सुरक्षाको अवस्था र बर्सेनि दोहोरिने समस्याहरूको समाधानबारे छलफल गरिएको थियो। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा पुनः समस्या देखिन थालेको र लगातारको वर्षाले विभिन्न स्थानको सडक अवस्थालाई प्रभावित बनाएको छ।
सिटौलाले नयाँ बसपार्कमा अहिले नै फूलपातीको दिनजस्तो यात्रुको चाप रहेको बताए। “यात्रु र चालकको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्छ,” उनले भने, “अहिले अग्रिम बुकिङ नखोलिए पनि काठमाडौं आउने गाडीको सङ्ख्या हेरेर टिकट व्यवस्था गरिनेछ।”
यातायात व्यवस्था विभागले घटस्थापनाबाटै देशभर चल्न मिल्ने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ। अब कुनै पनि गाडीले देशभर जुनसुकै गन्तव्यमा यात्रु बोक्न पाउनेछ। रुट परमिट असोज २२ गतेसम्मका लागि खुला रहनेछ।
टिकटमा ठगी भए वा टिकट भएर पनि गाडी नपाएमा काउन्टर नजिकै रहने ‘यात्रु सहायता कक्ष’मा गुनासो गर्न सकिने व्यवस्था मिलाइनेछ, जहाँ विभागका कर्मचारी र प्रहरीको उपस्थिति हुनेछ। साथै, केही दिनभित्र यात्रुको चाप हुने स्थानहरूमा नयाँ सहायता कक्षहरू स्थापना गरिने उपमहानिर्देशक नरहरि तिवारीले जानकारी दिए।
सडक विभागका महानिर्देशक विजय जैसीले भने, “दसैंको समयमा सडक पूर्वाधारमा कुनै समस्या आउन नदिने गरी तयारी भइरहेको छ।”
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया