काठमाडौं । बंगलादेशमा सन् २०२५ को फेब्रुअरीमा हुने आम चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको मतदाता परिचयपत्र निष्क्रिय बनाएको छ। परिचयपत्र निष्क्रिय भएपछि हसिना अब आगामी निर्वाचनमा मतदान गर्न अयोग्य बनेकी छन्।
निर्वाचन आयोगका सचिव अख्तर अहमद का अनुसार, निष्क्रिय भएका व्यक्तिहरू विदेशबाट समेत मतदान गर्न पाउँदैनन्। भारतीय समाचार संस्था एनडीटिभीले अहमदलाई उद्धृत गर्दै हसिनाको मतदाता परिचयपत्र पहिले नै निष्क्रिय भइसकेको जनाएको छ।
यद्यपि सचिव अहमदले अन्य व्यक्तिहरूको नाम नखुलाए पनि, विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार हसिनाकी बहिनी शेख रेहाना, छोरा साजिब वाजेद जय, र छोरी साइमा वाजेद पुतुलको मतदाता परिचयपत्र पनि निष्क्रिय पारिएको उल्लेख छ।
त्यसका साथै, रेहानाका सन्तान, हसिनाका अन्य आफन्तजन, र उनका पूर्व सुरक्षा सल्लाहकार मेजर जनरल तारिक अहमद सिद्दिकी तथा उनको परिवारलाई पनि मतदान अधिकारबाट वञ्चित गरिएको बताइएको छ।
निर्वाचन आयोगले भनेको छ, यदि वैदेशिक बसाइमा रहेका न्यायबाट फरार व्यक्तिहरूको ल्क्ष्म् सक्रिय रहेको खण्डमा, उनीहरूले अझै पनि मतदान गर्न सक्ने अवस्था हुन सक्छ।
यो घटनालाई बंगलादेशको चुनावी वातावरण र राजनीतिक परिदृश्यमा गम्भीर मोडको रूपमा हेरिएको छ, जहाँ देशकै पूर्वप्रधानमन्त्री र उनका परिवारका प्रमुख सदस्यहरू मतदान प्रक्रिया बाहिरिने अवस्थामा पुगेका छन्।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया