काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनको आडमा राजनीतिक दल र तिनले पुर्याएको योगदान मेट्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेर नष्ट गरेको घर बिहीबार अवलोकनपछि उनले राजनीतिक दलका नेताहरूको निजी सम्पत्तिमा तोडफोड र आगजनी हुनु नियोजित दुष्प्रयास भएको टिप्पणी गरे।
सिंहले भने, ‘विराटनगरमा कोइराला निवास, काठमाडौंमा चाक्सीबारी, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो। यसले देखाउँछ कि जेन-जी आन्दोलनलाई आड बनाएर दल र दलहरूले गरेको योगदानलाई मेट्न खोजिएको छ।’
उनले तोडफोड र आगजनीका घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै लोकतन्त्रमा दलहरूको भूमिका अपरिहार्य रहेको स्मरण गराए। ‘दललाई कमजोर पार्ने दुष्प्रयास गरिएको छ। तर लोकतन्त्रमा दलहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। समयको मागअनुसार दललाई अझ संस्थागत गर्दै अघि बढ्नुपर्छ। देश बनाउन मिलेर लाग्नुपर्छ, राज्यविरुद्धको दुष्प्रयासबाट केही उपलब्धि हुँदैन,’ सिंहले भने।
उनले आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै सरकार सचेत रहनुपर्नेमा जोड दिए। ‘यो लोकतान्त्रिक प्रक्रियाविरुद्ध खेल्ने प्रयास हो। यसबारे गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ र सरकार अलर्ट हुनुपर्छ,’ उनले चेतावनी दिए।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया