काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालको अद्यावधिक नक्सा हटाइएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको छ।
नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्षबाट नक्सा हटाइएको भन्दै प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो राष्ट्र हाम्रो पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा राखेर लडेर सुरक्षित गरेका हुन्। त्यस माटो आज हाम्रो पहिचान बनेको छ। तर प्रधानमन्त्रीज्यूको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे।’ उनले संविधानको अनुसूचीमा अङ्कित नक्सा राष्ट्रिय सहमतिमा पास भएको र नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्तावेज भएको पनि स्मरण गराएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द कार्कीले भने, यस्तो समाचार गलत भएको बताए। उनका अनुसार, नयाँ भवनमा सरेका कारण अहिलेसम्म प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा राख्न भ्याइएको छैन। ‘यो हल्ला फैलाउनका लागि मात्रै हो। पुरानो कार्यालयमा रहेका कागजात र सामग्री जलेर नष्ट भएका थिए, नयाँ कार्यालयमा नयाँ कागजात व्यवस्थापन गर्दै जाँदा नक्सा राख्न अझै भ्याइएको छैन,’ उनले बताए।
गत भदौ २३ र २४ गते जेन–जेड आन्दोलनको क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगलागी भएको थियो। त्यसपछि नयाँ भवनमा प्रधानमन्त्री कार्कीले भदौ २९ गते पदभार ग्रहण गरेकी हुन्। सचिव कार्कीका अनुसार नयाँ भवनमा कार्यकक्ष तयार पार्दा पुरानो कार्यालयमा रहेका सामग्री जलेको र नयाँ नक्सा हालसम्म व्यवस्था गर्न नसकिने अवस्था भएको हो।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया