काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार सार्वजनिक गरेको भिडियो वक्तव्यमा उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र मुलुकलाई अस्थिरताबाट जोगाउन चुनाव ढिलो नगरी सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे।
‘देश र जनताविरुद्धका षड्यन्त्र अझ सकिएका छैनन्। अन्तरिम सरकारलाई असफल बनाउन प्रयास भइरहेका छन्। निर्वाचन रोक्ने र मुलुकलाई अस्थिरतातिर धकेल्ने योजनाबद्ध प्रयास हुन सक्छ,’ प्रचण्डले भने, ‘त्यसैले घोषित निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्छ।
उनले सम्बोधनमा अतीतका कमजोरीहरू स्वीकार गर्दै पार्टी र नेतृत्वलाई सुधारको प्रक्रियामा रहेको स्पष्ट पारे। व्यवहारगत त्रुटि भए पनि गलत नीति वा विचार नलिएको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध निरन्तर संघर्षरत रहेको उल्लेख गरे। तर जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै सच्याउने प्रतिबद्धता पनि जनाए।
नेतृत्व हस्तान्तरणबारे पार्टीभित्र छलफल सुरु भएको जानकारी दिँदै प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै विचलन देशलाई समाधान होइन, संकटतर्फ लैजाने चेतावनी दिए।
‘लोकतन्त्रको विकल्प अझ सशक्त लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको स्वतन्त्रताको रक्षा गर्ने आधार हो, जुन सबै नेपालीको साझा कर्तव्य हो,’ उनले भने।
उनले अन्तरिम सरकारलाई असफल बनाउन र निर्वाचन रोक्न सक्ने गतिविधिबारे सचेत रहन लोकतान्त्रिक शक्तिहरूलाई आह्वान समेत गरे।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया