काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक आज चारैतिर खरानी बनेको परिस्थितिमा त्यही खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्ने बताएका छन्। संविधान दिवसको पूर्वसन्ध्यामा नागरिकन्युजसँग कुरा गर्दै उनले संविधानको मर्म र भावनालाई आधार बनाएर मुलुकलाई आमूल परिवर्तन र समाजवादको दिशामा अघि बढाउनुपर्ने धारणा राखे।
खनालले भने, सबैले यो खरानीमाथि उभिएर अर्को संकल्प गर्नुपर्छ। देशलाई विध्वंसबाट नवनिर्माणमा लैजान संविधानका सकारात्मक पक्षलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ। समाजवादतर्फ अघि बढ्नुको विकल्प छैन।
उनका अनुसार संविधान बनेको दशकपछि दुई पटक आम निर्वाचन भए पनि असल नेतृत्व आउन सकेन र कुनै सरकार संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल रह्यो। म त भन्छु, संविधान अझै कार्यान्वयन नै भएको छैन। मौलिक हक र कर्तव्य (भाग ३) तथा नीति निर्देशक सिद्धान्त र दायित्व (भाग ४) कार्यान्वयन हुन सकेन। कतिपय नेतालाई त संविधानमा के छ भन्ने थाहा पनि छैन, खनालले टिप्पणी गरे।
उनले मेहनतपूर्वक बनाइएको संविधान नै अहिले संकटपूर्ण अवस्थामा पुगेको बताए। तर अब यसलाई सही ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमै छ, उनले जोड दिए।
जेन–जी आन्दोलनपछि मुलुक गम्भीर संकटमा परेको उल्लेख गर्दै खनालले आन्दोलनलाई सुरुवाती चरणमा सार्थक मान्दा पनि त्यसपछि चरम दमन र बाह्य हस्तक्षेपले आन्दोलनको स्वरूप बिगारेको बताए। तानाशाही सरकारले गरेको बर्बर दमनपछि आन्दोलन जेन–जीको नियन्त्रणमा रहेन। विध्वंसकारी, लुटपाटकर्ता र विदेशी तत्वहरूले आन्दोलन कब्जा गर्न खोजे र मुलुक महाविनाशको अवस्थामा पुग्यो, उनको भनाइ छ।
जेन–जी आन्दोलनको क्रममा खनालको डल्लुस्थित घरमा आगजनी भएको थियो। सो घटनामा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन्। हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको परिवारले जनाएको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया