काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन–जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमार्फत भ्रामक समाचार फैलाइएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार जारी वक्तव्यमा सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रविधिको दुरुपयोगमार्फत पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरिएको आरोप लगाउँदै आम नागरिक तथा कार्यकर्तालाई त्यस्ता हल्लामा नपर्न आग्रह गरेका छन्।

advertisement

वक्तव्यमा भदौ २४ गते बिहानैदेखि आन्दोलनलाई धमिलो बनाउने निहित उद्देश्यले विभिन्न समूहहरूले दलका कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गरेको उल्लेख छ। सोही क्रममा देउवाको निवासमा समेत आक्रमण भई उनी स्वयं, उनकी पत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र छोरामाथि समेत सांघातिक हमला भएको सचिवालयले स्पष्ट गरेको छ।

सचिवालयका अनुसार आक्रमणपछि सामाजिक सञ्जालमा ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको, जलेका नोटको थुप्रो भेटिएको र पैसाको सुरुङ रहेको जस्ता समाचारहरू सम्प्रेषण गरिएका छन्, तर ती सबै भ्रामक हुन्। सचिवालयले स्पष्टीकरण दिँदै घरभित्र देखाइएको ‘बंकर वा सुरुङ’ वास्तवमा अन्डरग्राउन्ड पानी ट्याङ्की मात्र रहेको प्रस्ट्याएको छ।

त्यसैगरी, सचिवालयले जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com