सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै हालैको जेन-जी आन्दोलनपछि देशभर देखिएका आगजनी, तोडफोड र हिंसात्मक घटनाले मुलुकलाई गम्भीर चुनौती दिएको बताएका छन्।
उनका अनुसार यस्ता गतिविधिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने खतरा बढाएको छ। उनले राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई धैर्यका साथ एकताबद्ध हुन आह्वान गरे।
मुख्यमन्त्री कँडेलले संविधानलाई राजनीतिक सहमति र कानुनी सिद्धान्तमा आधारित ऐतिहासिक दस्तावेज भन्दै तीन तहका सरकारले नागरिक अधिकार कार्यान्वयन गर्न प्रयासरत रहेको बताए। तर, भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सुरु भएको आन्दोलनपछि देखिएका हिंसात्मक गतिविधिले लोकतन्त्रकै आधारमा चुनौती थपिएको उनको टिप्पणी छ।
उनले भने, ‘शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर आगजनी, तोडफोड र लुटपाटजस्ता विध्वंसात्मक कामले सबैलाई स्तब्ध बनाएको छ। यस्ता गतिविधि लोकतन्त्र, कानुनी शासन र विधिको राज्यमा अकल्पनीय कुरा हुन्।’
कँडेलले संघीयता, समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक मूल्यमा प्रहार गर्ने नियतले अराजक गतिविधि गरिएका देखिएकाले सबै चिन्तित हुनुपर्ने अवस्था आएको उल्लेख गरे। उनले अहिलेको परिस्थितिमा राजनीतिक स्थायित्व कायम गर्दै संविधानले दिएका उपलब्धिहरूको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले संविधानले जनताको राजनीतिक अधिकार सुनिश्चित गरिसकेको र अब सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताए। ‘जेन-जी पुस्ताले उठाएका मागहरू संविधानकै संरचनाभित्र पूरा गर्न सकिने पर्याप्त आधार छन्। आवश्यक परे संविधान संशोधनमार्फत थप परिष्कृत गर्न सकिन्छ,’ उनले भने।
प्रदेश संरचना नै संघीयताको मूल पहिचान भएको उल्लेख गर्दै उनले त्यसप्रति उठेका आलोचनालाई समयअनुसार सुधारात्मक बनाइनुपर्ने धारणा राखे। साथै, तीन तहका सरकारबीच समन्वय गरी मात्र मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकिने भन्दै संविधान दिवसले सबैलाई थप जिम्मेवार बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कँडेलले संविधानको सफल कार्यान्वयनमार्फत अस्थिरता अन्त्य गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउने र समृद्ध मुलुक निर्माणतर्फ लाग्न सबैलाई आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया