काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेन–जी आन्दोलनका घटनाप्रति आत्मसमिक्षा गर्दै क्षमायाचना गरेका छन्। संविधान दिवसको अवसरमा सार्वजनिक सन्देशमार्फत उनले विगतमा भएका गल्ती र कमजोरीप्रति व्यक्तिगत रूपमा माफी माग्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरे।
पौडेलले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा राखे।
उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र नष्ट भएका सार्वजनिक तथा निजी संरचनाको छिट्टै पुनर्निर्माण गर्न सरकारसँग माग गरे।
आन्दोलनका जरा युवा पुस्ताको आकांक्षा र असन्तुष्टि भएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार नहुनु प्रमुख कारण भएको बताए। तर हिंसात्मक गतिविधिलाई भने उनले निन्दनीय भने।
पौडेलले पार्टी अब युवा पुस्तासँग एकाकार भएर नीति निर्माण र नेतृत्वमा उनीहरूको निर्णायक भूमिका सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै एमालेलाई गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित गर्ने विश्वास पनि व्यक्त गरे।
संविधान दिवसलाई ऐतिहासिक अवसरको रूपमा स्मरण गर्दै उनले संविधानको रक्षा, कार्यान्वयन र विकासमा सबै नेपालीले योगदान दिनुपर्ने आवश्यकता औंल्याए। आपसी सद्भाव र एकताको माध्यमबाट मुलुकलाई विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै उनले संविधान दिवसको शुभकामना दिएका छन्।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया