काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीले केही क्षति पुर्याए पनि स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको विभागका कर्मचारीहरूले पुष्टि गरेका छन्।
२३–२४ भदौमा संसद् भवनको पूर्वतर्फ रहेको विभागको कार्यालयमा आगजनी हुँदा इम्बोस्ड नम्बरको सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएका १२ लाखमध्ये करिब ६ लाख लाइसेन्स जलेर नष्ट भएको थियो। तर वितरणका लागि तयार भएका बाँकी ६ लाख थान लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ।
शुक्रबार बिहान यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्था रहेको जानकारी दिएका छन्। मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने पनि बताए।
उनका अनुसार, ‘राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न सकिन्छ। विदेश जानेहरूलाई अत्यावश्यक लाइसेन्स आवश्यक परेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा रहेको मेसिनबाट छाप्ने समन्वय हुनेछ।’
यातायात व्यवस्था विभागका अनुसार हाल २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ र त्यसका लागि आवश्यक सामग्री खरिदका लागि तत्काल टेन्डर आह्वान गरिने तयारी भइरहेको छ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया