काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेन–जेड पुस्ताका मागअनुसार प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन आवश्यक भएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रवार जारी शुभकामना सन्देशमा उनले संविधानको मर्मअनुसार यसलाई सर्वस्वीकार्य बनाउने समयमा पुगेको औँल्याए।

नेता शर्माले भने, ‘जनताले आफ्ना अधिकार पूरा रूपमा उपभोग गर्न पाएका छैनन्। राजनीतिक दल र प्रशासनिक कमजोरीका कारण संविधान दिवस अझै खण्डहरमा मनाउनुपरेको छ।’

advertisement

उनले संविधान निर्माणले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र सामाजिक न्यायका मौलिक अधिकार सुनिश्चित गरेको भए पनि यसको पूर्ण कार्यान्वयन अझै हुन नसकेको उल्लेख गरे। संविधान कार्यान्वयन गर्ने संस्थाहरू पारदर्शी र बलिया बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

शर्माले व्यक्तिगत रूपमा संविधान निर्माणदेखि कार्यान्वयनको चरणसम्मका कमजोरी स्वीकार गर्दै क्षमा मागे। उनका अनुसार प्रत्यक्ष कार्यकारी नहुँदा राजनीतिक अस्थिरता, स्पष्ट आर्थिक मार्गनिर्देशनको अभाव, भ्रष्टाचार र दलालीका कारण जनतामा निराशा फैलिएको छ, जुन जेन–जेड आन्दोलनमार्फत व्यक्त भएको हो।

उनले वर्तमान सरकारले समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने र राजनीतिक दल, सरकार र नागरिक सबैले देशहितलाई सर्वोपरि राख्दै सहकार्य गर्न आवश्यक रहेको बताए। अन्तरिम सरकारले भदौ २३ गतेको हिंसात्मक घटनाको छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने समेत उनले जोड दिए।

साथै, विगतमा उच्च ओहदामा रहेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै उनले संविधानको आधारमा आशा र विश्वासका साथ राष्ट्रिय पुनर्निर्माणमा सबैलाई सक्रिय भूमिका निभाउन आह्वान गरे।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com