पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मूल आधारशिला भएको बताएका छन्।

संविधान दिवस २०८२ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबै पक्षले समान जिम्मेवारी लिनुपर्नेमा जोड दिए। तीनै तहका सरकारबीच सहकार्य गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण, भौतिक संरचना पुनःनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवाको विस्तारमा गण्डकी प्रदेश सरकार निरन्तर अघि बढ्ने उनले स्पष्ट पारे।

advertisement

मुख्यमन्त्री पाण्डेले पारदर्शिता र सुशासनलाई सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै, राइड शेयरिङमार्फत युवालाई रोजगारी दिने, चालु खर्च कटौती गर्ने, कार्यालय समायोजन गर्ने र दरबन्दी घटाएर मितव्ययी शासन प्रणाली लागू गर्ने पहललाई उदाहरणीय कदमका रूपमा प्रस्तुत गरे।

साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै प्रदेश र मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु आजको समयको आवश्यकता भएको धारणा राखे।

यसैबीच, कार्यक्रममा अन्य दलका नेताहरूले पनि संविधानको प्रभावकारी कार्यान्वयन र सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले भ्रष्टाचारविरुद्ध कडाइका साथ छानबिन गर्न एमाले तयार रहेको दाबी गर्दै सरकारको ध्यान आकर्षित गराए। उनले नेपालको ‘चुच्चे नक्सा’ (कालापानी, लिपुलेक, लिम्पियाधुरा)को विषयमा वर्तमान प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा उठाउन नसकेको भन्दै आपत्ति जनाए। “मातृभूमि, लोकतन्त्र र गणतन्त्र जोगाउन जीवन अर्पण गर्न तयार छौँ,” उनले भने, आत्मनिर्भर अर्थतन्त्रका लागि युरेनियम र धौवादी फलाम खानीजस्ता प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले संविधान जारी भएको दशक बितिसक्दा पनि महत्त्वपूर्ण धारा र प्रावधानहरूको कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे। उनले संघीयतालाई सबल पार्ने सट्टा कमजोर बनाउन खोजिएको र सरकारमा पुगेकाहरूबाटै भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्तिले युवामा आक्रोश बढेको टिप्पणी गरे।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com