नेपालको राजनीतिले लामो समय देखि जनताको विश्वास गुमाउदै आएको छ। राजनीतिक दलहरू र तिनका नेताहरूले सत्ता र स्वार्थको खेलमा लागेर जन भाबनालाई बेवास्ता गरेका गुनासोहरू बढ्दो छन्। दोहोरो चरित्र, झुटा आश्वासन र अपारदर्शी कार्यशैलीले गर्दा राजनीति प्रति नै वितृष्णा बढि रहेको छ। यो अवस्थामा, राजनीतिक दलहरूले आत्म समीक्षा गर्दै आमूल परिवर्तनको बाटोमा लाग्नै पर्ने देखिन्छ। यहाँ प्रस्तुत गरिएका सुझावहरू एक स्वस्थ, नैतिकवान र जिम्मेवार राजनीतिको जग बसाल्नका लागि तयार पारिएका हुन्। यी सुझावहरूले राजनीतिलाई जनतासँग जोड्ने, पारदर्शिता बढाउने र देशको दिगो विकासका लागि योग्य नेतृत्व तयार पार्ने मार्गचित्र प्रस्तुत गर्दछन्।
सत्य निष्ठाको राजनीति
राजनीतिक दलहरूले सत्तामा हुँदा एक र प्रतिपक्षमा हुँदा अर्को बोली बोल्ने जुन प्रवृत्ति छ, त्यसले आम नागरिकको विश्वासमा गम्भीर आघात पुर्याएको छ। यो दोहोरो मापदण्डले राजनीतिलाई नै अविश्वसनीय बनाएको छ। अब यो व्यवहारलाई तत्काल अन्त्य गर्नुपर्छ। जुन सुकै अवस्थामा पनि दलहरूले सत्य, न्याय र जनहितको भाषा बोल्नु पर्छ। यदि कुनै काम राम्रो छ भने त्यसको प्रशंसा गर्ने र यदि गलत छ भने त्यसको आलोचना गर्ने साहस राख्नु पर्छ, चाहे त्यो आफ्नै पार्टीले गरेको किन नहोस्। यसो गर्दा मात्र जनताले दलहरूलाई जिम्मेवार र इमान्दार ठान्छन् र राजनीति प्रति उनीहरूको घट्दो विश्वास फर्कनेछ। स्थायीत्व र दीर्घकालीन सफलताका लागि राजनीतिमा सत्यनिष्ठा र नैतिकता अपरिहार्य हुन्छ।
सपना होइन, कार्यान्वयन
चुनावी घोषणापत्रहरू प्रायः सपनाहरूको पुलिन्दा मात्रै बन्ने गरेका छन्। मतदातालाई आकर्षित गर्न असम्भव र अव्यावहारिक योजनाहरू समेटिन्छन्, जसको कार्यान्वयन कहिल्यै हुदैन। अब राजनीतिक दलहरूले यस्तो झुठा आश्वासन दिन बन्द गर्नु पर्छ। घोषणापत्र बनाउँदा त्यसको व्यावहारिक पक्ष, आर्थिक स्रोत र कार्यान्वयनको सम्भावनालाई सत्प्रतिशत सुनिश्चित गर्नुपर्छ। कम, तर पूरा गर्न सकिने र जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने योजनाहरूलाई मात्रै घोषणापत्रमा समावेश गर्नुपर्छ। यसले जनतामा दलहरूप्रति विश्वास जगाउँछ र चुनाव पछिको असफलताको लाजबाट पनि जोगिन सकिन्छ। जनतालाई झुटा सपना होइन, ठोस र पूरा हुने प्रतिबद्धता चाहिएको छ।
जिम्मेवारी बोक्ने साहस
राम्रो कामको श्रेय आफू लिने र नराम्रो कामको दोष अरूलाई थोपर्ने जुन चलन छ, त्यसले राजनीतिमा परिपक्वताको अभाव देखाउँछ। जिम्मेवार राजनीतिक दलहरूले राम्रो वा नराम्रो दुवै अवस्थाको जिम्मेवारी लिन सक्नु पर्छ। गल्ती र कमजोरीहरूलाई स्वीकार गर्ने साहस राख्नुपर्छ र त्यसलाई सुधार्ने बाटोमा लाग्नु पर्छ। आफ्ना कमजोरी लुकाउन अरूलाई गाली गलौज गर्नु भन्दा आत्म समीक्षा गर्नु नै असल राजनीतिको पहिचान हो। जब नेताहरूले आफ्ना गल्तीहरू स्वीकार गर्छन्, तब मात्रै उनीहरूको विश्वसनीयता बढ्छ र जनताले पनि उनीहरूलाई सच्चिने मौका दिन्छन्। यसले राजनीतिलाई थप पारदर्शी र उत्तरदायी बनाउँछ।
प्रतिभाको सम्मान
नेपालको राजनीतिमा धेरै योग्य, क्षमतावान र तटस्थ नागरिकहरू जोडिइरहेका छैनन्। राजनीतिक दलहरूले उनीहरूलाई जोड्ने रणनीतिक योजना ल्याउनु आवश्यक छ। पार्टीमा वर्षौ बिताएका ज्येष्ठताको आधारमा मात्रै नभई, योग्यता र क्षमताका आधारमा नेतृत्व चयन गर्ने प्रणाली बसाल्नु पर्छ। यसका लागि पार्टीहरूले आम नागरिकको पहुँच पुग्ने गरी अभियान चलाउनु पर्छ र उनीहरूको प्रतिभालाई सम्मान दिई उचित स्थान दिनुपर्छ। पार्टीको सदस्यता लिएको मितिले योग्यताको मापन गर्दैन, बरु व्यक्तिमा भएको दक्षता, दूरदृष्टि र इमान्दारीले गर्छ भन्ने कुरालाई स्थापित गर्नुपर्छ। यसले पार्टीलाई थप गतिशील र जनमुखी बनाउँछ।
डिजिटल पार्टी, चाकडीवादको अन्त्य
प्रत्येक राजनीतिक दलले आफ्नै डिजिटल एप्स बनाएर पार्टीलाई आधुनिक बनाउनु पर्छ। यसबाट पार्टीमा जोडिन चाहने नयाँ सदस्यहरूले सजिलै डिजिटल फारम भरेर सहभागी हुन सक्छन्। यसले चाकडी र बिचौलियाको परम्पराको अन्त्य गर्न मद्दत गर्छ। जनताको गुनासो, सुझाव र पार्टीका गतिविधिलाई एप्स मार्फत पारदर्शी बनाउन सकिन्छ। यसले पार्टीभित्र लोकतन्त्रको अभ्यासलाई बढावा दिन्छ र योग्य मानिसलाई सही स्थानमा पुग्न सजिलो हुन्छ। डिजिटल माध्यमले पार्टीका सबै तहका कार्यकर्ता र नेतृत्व बीच सिधा सम्पर्क स्थापित गर्न सक्छ, जसले पार्टीलाई अझ बढी संगठित र प्रभावकारी बनाउँछ।
कार्यकर्ताको मत, योग्य उम्मेदवार
उम्मेदवार छनोट गर्दा माथिल्लो तहका केही नेताको निर्णयले मात्रै नभई, सोही क्षेत्रका सबै कार्यकर्ताको मतको आधारमा गर्नुपर्छ। आन्तरिक पार्टीमा प्राथमिक निर्वाचनको व्यवस्था लागू गर्दा सबै भन्दा लोकप्रिय र योग्य व्यक्तिले उम्मेदवारी पाउँछ। यसले पार्टीमा नेतृत्व विकासको अवसर पनि सिर्जना गर्छ। कार्यकर्ताहरूले आफूले चुनेको व्यक्तिलाई समर्थन गर्दा चुनावी सफलताको सम्भावना पनि बढ्छ। यो प्रणालीले नेताहरूलाई कार्यकर्ता प्रति थप जवाफदेही बनाउँछ र पार्टी भित्रको गुटबन्दीलाई पनि कम गर्छ। यसरी छनोट भएका उम्मेदवारहरूले जनताको विश्वास सजिलै जित्न सक्छन्।
राजनीतिक शुद्धीकरण
राजनीतिलाई शुद्धीकरण गर्नका लागि अदालतबाट कुनै पनि मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिलाई कुनै पनि तहमा पदाधिकारी बन्न नदिने विधिवत् व्यवस्था गर्नु पर्छ। यस्तो कानुनी प्रावधानले राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको प्रवेश रोक्छ र इमान्दार तथा नैतिकवान व्यक्तिहरूलाई अगाडि आउन प्रोत्साहन गर्छ। यसले सार्वजनिक जीवनमा विश्वसनीयता र नैतिकताको उच्च मापदण्ड स्थापित गर्छ। जब जनताले स्वच्छ छवि भएका नेताहरूलाई देख्छन्, तब उनीहरूको राजनीति प्रतिको दृष्टिकोण सकारात्मक बन्छ र देशको सुशासनमा पनि सुधार आउँछ।
पारदर्शी नीति, जनताको सुझाव
राजनीतिक दलहरूले आफ्ना नीति, नियम र विधानलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्नुपर्छ। यसले पार्टी भित्रको पारदर्शिता बढाउँछ। जनताले दलका सिद्धान्त, उद्देश्य र कार्य प्रणालीबारे सजिलै जानकारी पाउँछन्। सार्वजनिक गरिएका नीतिहरूमा जनताबाट सुझाव र प्रतिक्रिया लिने व्यवस्था गर्नुपर्छ। यसले दलहरूलाई जन भावना बुझ्न र आफ्ना नीतिहरूलाई समय अनुकूल बनाउन मद्दत गर्छ। जनतासँगको यो निरन्तर संवादले दलहरूलाई थप जिम्मेवार र जनमुखी बनाउँछ। यो एउटा यस्तो अभ्यास हो जसले लोकतन्त्रलाई साच्चिकै बलियो बनाउँछ।
जनतासँग नजिकको सम्बन्ध
राजनीतिक नेता र आम जनता बीचको दूरी ठूलो समस्या बनेको छ। यसलाई कम गर्न हरेक तहका पार्टी कार्यालयमा नेताहरूले जनतासँग भेटघाट गर्ने मासिक ड्युटी रोस्टर सार्वजनिक गर्नुपर्छ। जनताले कुन नेतासँग कुन दिन भेट्न सक्छन् भन्ने जानकारी स्पष्ट हुनु पर्छ। यसले जनतालाई आफ्ना समस्या, गुनासो र सुझाव सिधै नेताहरू समक्ष राख्ने अवसर दिन्छ। नेताहरूलाई पनि जनताको वास्तविक समस्या बुझ्न मद्दत गर्छ। यसले पार्टीलाई जनतासँग नजिक बनाउँछ र राजनीति प्रति जनताको अपनत्व बढ्छ।
सेवाको भाव, भ्रष्टाचार मुक्त राजनीति
राजनीतिलाई कमाइ खाने भाँडोको रूपमा हेर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको छ। दलहरूले आफ्ना नेताहरूलाई वैकल्पिक आम्दानीको स्रोतमा लाग्न प्रेरित गर्नुपर्छ। उनीहरूलाई राजनीति सेवा हो, व्यक्तिगत स्वार्थ पूर्ति गर्ने पेशा होइन भन्ने कुरा बुझाउनु पर्छ। यसका लागि नैतिक शिक्षा र आचार संहिताको कडाइका साथ पालना गराउनु पर्छ। जब नेताहरू आर्थिक रूपमा आत्मनिर्भर हुन्छन्, तब उनीहरू सार्वजनिक पदको दुरुपयोग गर्नबाट बच्छन्। यसले राजनीतिलाई स्वच्छ बनाउँछ र असल नियत भएका व्यक्तिहरूलाई पनि राजनीतिमा आउन प्रोत्साहित गर्छ।
गुटबन्दी मुक्त संगठन
राजनीतिक दलका नाममा चलेका अनावश्यक र हस्तक्षेपकारी भ्रातृ संगठनहरूले पार्टी भित्र गुटबन्दी बढाएका छन्। यी संगठनहरूले आफ्नो स्वार्थ पूर्तिका लागि पार्टीको निर्णय प्रक्रियामा अनावश्यक दबाब दिन्छन्। यसले पार्टीलाई कमजोर बनाउँछ। यी भ्रातृ संगठनहरूको विघटन गरेर पार्टीलाई एकल र बलियो संगठनको रूपमा अगाडि बढाउनु पर्छ। यसले पार्टी भित्रको शक्ति संघर्ष कम गर्छ र पार्टीलाई आफ्नो मूल सिद्धान्त र उद्देश्यमा केन्द्रित हुन मद्दत पुग्छ। यसरी पार्टीले आफ्नो विश्वसनीयता कायम राख्न सक्छ।
जनभावनाको कदर, आलोचनाको सम्मान
आजको युगमा सामाजिक सञ्जाल जन भावना बुझ्ने एउटा महत्वपूर्ण माध्यम बनेको छ। राजनीतिक दलहरूले यसको सही प्रयोग गरी जन चाहना र समयको प्रवाहलाई बुझ्ने कोसिस गर्नुपर्छ। आलोचनालाई सकारात्मक रूपमा लिने र त्यसलाई पार्टी सुधार्ने एउटा दिव्य उपदेशको रूपमा स्वीकार गर्नु पर्छ। आलोचनाले नै दलहरूलाई जीवन्त राख्न मद्दत गर्छ। जनताको आवाज सुन्नु र त्यस अनुसार नीतिहरूमा परिवर्तन गर्नु नै आधुनिक राजनीतिको आवश्यकता हो। यसले दलहरूलाई जनतासँग जोड्छ र उनीहरूको विश्वसनीयता बढाउँछ।
गुट मुक्त पार्टी, सक्षम नेतृत्व
राजनीतिक दलहरू भित्र रहेका गुट, उपगुट र समूहहरूले पार्टीलाई कमजोर बनाएका छन्। यसले योग्य र सक्षम व्यक्तिहरू लाई अगाडि आउनबाट रोक्छ। यी सबै प्रकारका गुटहरूलाई समाप्त गरी पार्टी भित्र पूर्ण लोकतान्त्रिक विधि पद्धति अनुसरण गर्नु पर्छ। यसले आन्तरिक प्रतिस्पर्धा र पारदर्शी प्रक्रियाबाट सक्षम नेतृत्वको विकास गर्न मद्दत गर्छ। जब पार्टी भित्र नेतृत्व विकासको स्वच्छ प्रणाली हुन्छ, तब मात्रै देशले पनि योग्य र सक्षम नेता पाउँछ। एउटा बलियो र एकताबद्ध पार्टी नै देशको लागि सुशासनको आधार हो।
मौलिक विचार, आफ्नो पहिचान
विदेशी माटोमा जन्मिएका वाद र विचारधाराहरू लाई जस्ताको त्यस्तै नक्कल गर्नु नेपालको लागि उपयुक्त हुदैन। नेपालको आफ्नै इतिहास, भूगोल, अर्थतन्त्र, शिक्षाको स्तर, रोजगारीको अवसर, उद्योग, उत्पादन र सांस्कृतिक विविधतालाई ध्यानमा राखेर आफ्नै राजनीतिक विचारधाराको विकास गर्नुपर्छ। यस्तो विचारधाराले मात्र देशको वास्तविक समस्याहरूको समाधान गर्न सक्छ। जब दलहरूले आफ्नो मौलिक विचार बोक्छन्, तब उनीहरूको राजनीतिमा अपनत्व र गहिराइ आउँछ। यसले राष्ट्रिय हितमा आधारित नीतिको निर्माण गर्न पनि मद्दत गर्छ।
राष्ट्र हित सर्वोपरि
राज्यको सुरक्षा, राष्ट्रिय एकता र सार्वभौमिकतालाई ध्यानमा राख्दै राष्ट्रवादी तत्वहरू एकजुट भएर राजनीतिक शक्ति प्रदर्शन गर्नु पर्छ। अहिलेको जटिल अन्तर्राष्ट्रिय भूराजनीतिलाई बुझेर नेपालको हितलाई केन्द्रमा राखी कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नु पर्छ। भ्रष्टाचार, अनियमितता, जालसाजी, अन्याय, हिंसा, निरंकुशता, पक्षपात, षड्यन्त्र, असहिष्णुता, स्वार्थ, झोले प्रवृत्ति र विदेशीको भरौटे बनेर होइन, ईमान्दारी, सुशासन, पारदर्शिता, न्याय, अहिंसा, निष्पक्षता, एकता, सहिष्णुता देशको स्वाभिमान र गौरवलाई प्राथमिकतामा राखेर समय सान्दर्भिक सुझ-बुझको राजनीति सहित काम गर्नु पर्छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा एउटा बलियो र आत्मनिर्भर राष्ट्रको रूपमा स्थापित गर्न मद्दत गर्छ।
अन्त्यमा, माथिका बुदाहरू केवल सुझाव नभई, एक जिम्मेवार र सफल राजनीतिको आधारशिला हुन्। यिनको वास्तविक मूल्य यिनीहरूलाई शब्दमा लेख्नुमा होइन, कार्यान्वयनमा छ। राजनीतिक दलहरूले यी सिद्धान्तहरूलाई आत्मसात् गरेर अगाडि बढेमा मात्र जनताको घट्दो विश्वास फर्कनेछ। असल नियत र कार्यशैलीले नै देशको भविष्य उज्ज्वल बनाउँछ। अबको आवश्यकता बोलीमा होइन, व्यवहारमा सत्यनिष्ठा र नैतिकता प्रदर्शन गर्ने नेतृत्व हो।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया