काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यसम्पादन समितिको बैठकमा हालको राजनीतिक परिस्थिति र पार्टीको भूमिकाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गर्दै पुनर्गठनका लागि दुई विकल्प अघि सारेका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको भौतिक बैठकमा उनले कांग्रेस अहिले गम्भीर चुनौतीको घेरामा रहेको उल्लेख गर्दै, ‘पार्टी आफैं घाइते भए पनि जिम्मेवारी र दायित्वहरू तत्कालै पूरा गर्नुपर्ने अवस्था छ,’ भने ।

advertisement

थापाले जेन–जेड आन्दोलनपछिको परिवेशले नयाँ परिस्थिति सिर्जना गरेको भन्दै पाँचबुँदे ब्रिफिङमा सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ, आन्दोलनमा भएका घुसपैठ र अवाञ्छित क्रियाकलापको छानबिन, दोषीलाई दण्ड र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कांग्रेसको प्रमुख दायित्व भएको प्रष्ट पारे । साथै उनले संविधानको रक्षा गर्दै लोकतान्त्रिक प्रक्रियाबाट समुन्नति हासिल गर्ने, र अहिंसा, नागरिक स्वतन्त्रता तथा विधिको शासनजस्ता मूल्य मान्यतामा सम्झौता नगर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताए ।

‘यी दायित्व पूरा गर्न आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प आवश्यक छ । विगतका गल्ती कमजोरी स्वीकार्दै पार्टीलाई आमूल परिवर्तन गर्नुपर्छ,” थापाले बैठकमा भने, “तर त्यो परिवर्तन विधिसम्मत तरिकाले हुनुपर्छ ।’

पार्टी पुनर्गठनका लागि उनले दुई विकल्प अघि सारे । पहिलो विकल्प नियमित महाधिवेशन गर्ने हो । ‘पार्टी विधानअनुसार वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ । म्याद थप्न मिल्दैन । त्यसैले २०८२ मंसिर मसान्तभित्र नियमित अधिवेशन गरौं । हालका क्रियाशील सदस्य यथावत् राखी एक महिनाभित्र नयाँ सदस्यता वितरण गरेर त्यसै आधारमा अधिवेशन सम्पन्न गरौं,’ उनले प्रस्ताव गरे ।

यदि नियमित अधिवेशनमा सहमति जुटेन भने विशेष महाधिवेशन बोलाउने अर्को विकल्प अघि सारेका छन् । ‘विधानले प्रष्ट व्यवस्था गरेको छ, आवश्यकता ठानेमा कार्यसमितिले वा ४० प्रतिशत महाधिवेशन सदस्यले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । अहिलेको असामान्य परिस्थितिमा केन्द्रीय कार्यसमितिले नै निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौं,’ उनले भने ।

थापाले यी दुई विकल्पबाहेक अर्को विकल्प नै नभएको उल्लेख गर्दै भने, “नयाँ नेतृत्वबाट मात्रै कांग्रेसले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा आफ्नो दायित्व पूरा गर्न सक्छ ।’

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com