काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल एक्स मार्फत उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउन आदेश नदिएको अभिव्यक्ति दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन्।
रिजालले लेखेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीकै मुखबाट ‘गोली चलाउने सरकारको आदेश थिएन, युवा मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्ने कुरा बाहिर आएसँगै विषय अझै गम्भीर बनेको छ। सरकारको पहिलो काम नै हत्या, आगजनी र लुटपाटको सत्यतथ्य छानबिन गर्नुपर्ने हो। दोषी पहिचान गरी कडाभन्दा कडा सजाय दिनुपर्छ।’
यसअघि संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पनि सो घटनामा आफूले गोली चलाउन आदेश नदिएको दाबी गर्दै सत्यतथ्य छानबिनको आवश्यकता औंल्याएका थिए।
अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि अहिलेसम्म समिति बनेको छैन। जेन–जी आन्दोलनको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न सरकारमाथि सर्वत्र दबाब बढ्दो छ।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया