विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कार्यकर्तालाई आगामी चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्। शनिबार जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त विराटनगरस्थित कोइराला निवास अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
कोइरालाले भने, ‘सरकारले फागुनमा चुनाव गर्ने घोषणा गरिसकेको छ। त्यसैले अब सबै कार्यकर्ताहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुन आवश्यक छ।’
उनका अनुसार अहिलेको सरकार विशेष परिस्थितिमा बनेको भएकाले उसको एक मात्र दायित्व निर्धारित समयमा चुनाव सम्पन्न गर्नु हो। ‘यस सरकारलाई चुनाव गराउनेबाहेक अन्य कुनै छुट छैन,’ उनले स्पष्ट पारे।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे राज्यले छानबिन गर्नुपर्ने उनको धारणा छ। ‘त्यसबेला भएका घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन राज्यले गर्नै पर्छ,’ कोइरालाले भने।
लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक केन्द्र मानिने विराटनगरको कोइराला निवासमा आगजनी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले ‘अहिलेको परिस्थिति बुझ्न र किन लोकतन्त्रको केन्द्र जलाइयो भन्ने प्रश्नमा गहिरो विचार गर्न जरुरी छ,’ भने।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया