काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले वर्तमान निर्वाचन प्रणालीप्रति तीव्र आपत्ति जनाएका छन्। उनले अहिलेको व्यवस्थाले सच्चा जनप्रतिनिधि नभई ‘भेँडा प्रतिनिधि’ मात्रै उत्पादन गर्ने गरेको दाबी गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै ढकालले प्रजातन्त्रको मूल आधार ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भए पनि नेपालमा प्रयोग हुँदै आएको निर्वाचन प्रणालीले ‘भेँडाले, भेँडाद्वारा, भेँडाका लागि’ शासनलाई प्रश्रय दिएको आरोप लगाए।
उनका अनुसार यस्तो प्रणालीबाट हुने चुनावले वास्तविक नेतृत्व चयन गर्न असम्भव बनाएको छ। ‘भेँडाको नेता सधैं भेँडा नै हुन्छ, मान्छे कहिल्यै हुँदैन,’ भन्दै उनले यसलाई दोषपूर्ण प्रणालीको प्रतिफल बताए।
ढकालले चेतावनी दिँदै भने, ‘जनताले चलाएको देशमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता हुन्छ, तर भेँडाले चलाएको देशमा ध्वंस, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्रै हुन्छ।’
उनले तत्काल निर्वाचन प्रणालीमा संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै ‘भेँडातन्त्र’ को अन्त्य गरी जनताको वास्तविक शासन स्थापना गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया