काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका र अलग भएका नेताहरूले नयाँ राजनीतिक शक्ति निर्माण गरेका छन्। शनिबार जनकपुरमा सम्पन्न दुईदिने बैठकपछि डा. सञ्जयकुमार साहको नेतृत्वमा ‘जनस्वराज’ नामक पार्टी घोषणा गरिएको हो।

नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने जनाउँदै नेता ई. दीपक साहले अध्यक्ष तोक्ने निर्णय नगरेको जानकारी दिए। ‘पार्टी सञ्चालनका लागि विभागीय संरचना बनाइन्छ र त्यही विभागलाई जिम्मेवारी दिइन्छ,’ उनले भने।

advertisement

सो क्रममा तीन विभाग गठन गरिएको छ— राजनीतिक संगठन विभागको जिम्मेवारी ई. दीपक साहलाई, आर्थिक विभाग ई. सुरेन्द्रनारायण यादवलाई र प्रशिक्षण विभाग डा. सञ्जयकुमार साहलाई दिइएको छ। बाँकी नेताहरुलाई पनि क्रमशः विभागीय जिम्मेवारी तोकिँदै जाने साहले बताए।

ई. दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्षको जिम्मेवारीमा थिए। दुवैलाई जनमत अध्यक्ष राउतले कारबाही गरेर पार्टीबाट निष्कासन गरेका थिए।

जेनजी आन्दोलनपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानसहित केही नेताले विद्रोह गरेका थिए। हाल खान नयाँ पार्टीमा सहभागी नभए पनि निरन्तर संवाद भइरहेको जनस्वराजका नेताले बताएका छन्।

नवगठित जनस्वराज पार्टीले व्यक्तिवादभन्दा सामूहिकता, पदभन्दा जिम्मेवारी, राजनीति भन्दा सेवा, विभाजनभन्दा एकता र समानताको पक्षमा आफ्नो मूलमन्त्र तय गरेको छ। पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त र पारदर्शी शासन, स्थानीय स्वायत्तता, प्रत्यक्ष जनसहभागिता र कार्यकारी राष्ट्रपति प्रणालीको एजेन्डा अघि सारेको छ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com