काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले वर्तमान राजनीतिक परिस्थितिमा आवेग, उत्तेजना र प्रतिशोध त्यागेर संयमित ढंगले अघि बढ्न आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार सार्वजनिक गर्दै उनले नेपालको संविधान, लोकतान्त्रिक व्यवस्था, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमान जोगाउने जिम्मेवारी फेरि एक पटक सबै नेपालीमाथि आएको उल्लेख गरे।
‘विभिन्न नाम र आवरणमा हुने सबै खालका गलत कदम अस्वीकार गर्नुपर्छ,’ उनले लेखे, ‘यो संवेदनशील घडीमा अग्रजदेखि नौजवान सबैलाई भन्छु—अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ।’
इतिहासका पीडा र घाउ कोट्याएर भविष्य अनिश्चित बनाउन नहुने भन्दै उनले अति भावनात्मक प्रतिक्रिया गलत ठहरिने चेतावनी दिए। ‘२४ ताण्डव सर्वथा गलत थियो,’ सुहाङले थप लेखे।
हालैको आन्दोलनमा घुसपैठ भएको कुरा स्वयं जेन–जी पुस्ताका अगुवाले स्वीकार गरिसकेको दाबी गर्दै उनले आफ्नै आचारसंहिता र आदर्श बनाएर सडकमा आएका युवालाई उत्तेजनापूर्ण आरोप लगाउनु सन्ततिलाई गाली गर्ने जस्तै भएको टिप्पणी गरे। ‘आफ्नै सन्तानलाई गाली गर्नेले कहिल्यै जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्न सक्दैन,’ उनले लेखे।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया