काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन्।
प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगिएको जनाउँदै आइतबार वा सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको छ।
जेन(जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको जानकारी दिएका छन् । अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ।
सरकारलाई समावेशी तथा जेन(जीको प्रतिनिधिमूलक बनाउने प्रयासस्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भए पनि सोमबारसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्। कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरेपनि जेनजीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको हो।
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












प्रतिक्रिया