काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनस् सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

advertisement

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुकी पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो ।

वैकल्पिक बाटो प्रयोग गर्न सुझाव

तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । कार्यालयका अनुसार विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँं–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिन्छ ।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com