काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृले जेन–जी आन्दोलनले पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिँदै दलहरूलाई सुधारको मार्गमा हिँड्न बाध्य पारेको टिप्पणी गर्दै तत्काल लागू गर्न सकिने दुई ठोस कदम प्रस्ताव गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत नेतृले दलहरूलाई स्पष्ट कार्ययोजना सार्वजनिक गर्न चुनौती दिँदै भनिन्, ‘फेरि भन्छु, कसरी सच्चिने? यो अमूर्त कुरा भयो! दलहरूले कसरी सच्चिने भन्ने ठोस खाका प्रस्तुत गर्नुपर्छ।’
पहिलो, उनले शिक्षक र कर्मचारी संगठन खारेज गर्न, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्न, शिक्षालय तोडफोड तथा बन्द गराउने कार्यमा संलग्नलाई कारबाही गर्न, र शिक्षक–प्राध्यापकमाथि आक्रमण गर्नेहरूलाई राजनीतिक संरक्षण दिन बन्द गर्न आग्रह गरिन्।
दोस्रो, उनले दलीय नियुक्तिहरूको राजीनामा गराउनुपर्ने आवश्यकता औंल्याइन्। राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्डका सदस्य, बैंक निर्देशक, करारमा नियुक्त कार्यकर्ता तथा संवैधानिक निकायमा रहेका दलीय भागबन्डाका नियुक्ति हटाउनुपर्ने उनको जोड छ।
जेन–जी आन्दोलनलाई सम्बोधन गर्दै उनले लेखेकी छन्, ‘यी काम दलहरूले तत्काल गर्न सक्छन्। संसद् वा सरकारको दीर्घ प्रक्रिया पर्खनु पर्दैन। सुधारको वाचा केवल बोलीमै सीमित हुनु हुँदैन। यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्।’
उनले थपिन्, ‘यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्नेछन्, जुन जनताको सेवा गर्ने कर्मचारीतन्त्रको आधारशिला हो।’
उनीको यो अभिव्यक्ति जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारसँग प्रत्यक्ष संलग्न नभए पनि पछाडिबाट प्रभावकारी भूमिका खेलिरहेको चर्चा भइरहेका बेला आएको हो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया