काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जेन–जी आन्दोलनको पृष्ठभूमि गत वर्ष असारमा कांग्रेस र एमाले मिलेर बनेको सरकारले तयार पारेको दाबी गरेका छन्।
जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँग भर्चुअल अन्तरक्रियामा पुनले ओली नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाह र विकासभन्दा बढी बिचौलिया र स्वार्थ समूहको सेवामा ध्यान दिएको आरोप लगाए। ‘प्रमुख प्रतिपक्षका हैसियतमा बारम्बार सचेत गराउँदा पनि बेवास्ता गरियो, त्यसकै परिणामस्वरूप असन्तोष विस्फोट भएर जेन–जी आन्दोलनमा परिणत भयो,’ उनले भने।
पुनका अनुसार आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकभित्रका राजनीतिक, सामाजिक र आर्थिक असन्तुलन भए पनि भू-राजनीतिक असरले पनि सहायक भूमिका खेलेको छ। उनले निकट विगतमा बंगलादेश र श्रीलंकामा देखिएका संकटलाई उदाहरण दिँदै, त्यस्तै अवस्था नेपालमा आउने चेतावनी आफूहरूले संसद् भित्रबाहिर दिएका भए पनि सत्ता पक्षले अन्देखा गरेको टिप्पणी गरे।
आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहितका सरकारी कार्यालयमा आगजनी र क्षति भएको उल्लेख गर्दै उनले यसको नैतिक जिम्मेवारी कुशासनका मतियारहरूले लिनुपर्ने बताए।
पुनले आन्दोलनको मौका छोपेर प्रतिक्रियावादी शक्तिले अध्यक्ष प्रचण्डसहित नेताहरूको निवास र पार्टी कार्यालयमा आगजनी तथा लुटपाट गरेको दाबी गर्दै, माओवादी र अन्य दललाई उस्तै देखाउने प्रयास भएकोप्रति आपत्ति जनाए।
उनले अमेरिका, चीन, भारत र रुसबीचको शक्ति प्रतिस्पर्धाको प्रभाव नेपालमा पनि परेको भन्दै संवेदनशील अवस्थामा राष्ट्रिय स्वाधीनता जोगाउन सबै दल र शक्तिबीच सहकार्य र एकताको खाँचो रहेको बताए।
फरक प्रसंगमा पुनले जेन–जी आन्दोलनले दलहरूका विद्यमान नेतृत्व, संरचना र राज्यका निकायमा आमूल रूपान्तरण आवश्यक भएको कडा सन्देश दिएको निष्कर्षसमेत प्रस्तुत गरे।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया