काठमाडौं । नेपाली कांग्रेसका पाँच शीर्ष नेताहरू आज ठमेल, चाक्सीबारीमा भेला भई आन्तरिक राजनीतिक विषयमा छलफल गरेका छन्।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको पहलमा भएको बैठकमा डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए। बैठक जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकार, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा पार्टी महाधिवेशनमा केन्द्रित रहेको नेताहरूले बताए।
यसअघि पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन आवश्यक भएको आवाज उठाइरहेका छन्। विशेषगरी थापाले पार्टी रुपान्तरणको तयारीबारे दिएको संदेशले आन्तरिक बहसलाई तीव्र बनाएको छ। तर कतिपय नेताहरूले सभापति शेरबहादुर देउवा उपचाररत अवस्थामा रहेका बेला यस्तो बहस सुरु गर्नु ‘हतारको राजनीति’ भएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रवक्ता डा. महतले आजै पत्रकार सम्मेलनमार्फत देउवा अस्पतालमै हुँदा नेतृत्व परिवर्तनबारे चर्चा गर्नु असमय भएको टिप्पणी गरेका थिए। यही परिस्थितिमा पाँच नेताहरूबीच चाक्सीबारीमा छलफल भएको हो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया