काठमाडौं । माओवादीकी युवा नेतृ छिरिङ ल्हामु लामाले सत्ता र नेताहरूमाथि कठोर प्रहार गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको वक्तव्यमा नेताहरूमाथि आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि लुकाउने र खोक्रो राष्ट्रवादको कुरा गर्ने आरोप लगाएकी छन्।
लामाले विशेषत: माननीय लिङ्गदेनलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै भनेकी छन्, ‘तपाईका कार्यकर्ताले सिंहदरबार र संसद अगाडि आगो लगाएका, निजी सम्पत्ति खरानी बनाएका घटना हुँदाहुँदै पनि गल्ती स्वीकार नगरी ढुक्कसाथ खोक्रा आदर्श र राष्ट्रवादको कुरा गर्नु ढोंग हो।’
उनले नेताहरूको जीवनशैली र सम्पत्ति स्रोतप्रति प्रश्न उठाउँदै भनिन्, ‘तपाईँको काठमाडौंमा महलजत्रो घर, विदेशमा महँगा विश्वविद्यालयमा छोराछोरीको पढाइ र बिलासी जीवन कहाँबाट आयो ? जवाफ दिनुपर्छ। अरुको सम्पत्ति जलाइए, अब ४६ सालयताका सबै नेताहरूको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्छ।’
लामाले आन्दोलन र संघर्षमा युवाहरू फेरि उठ्ने चेतावनीसमेत दिएकी छन्। उनले भनिन्, ‘राज्यको ढुकुटी रित्याउने कोही पनि जोगिँदैन। सचेत युवा फेरि क्रान्तिकारी विचार बोकेर जाग्नेछन्।’

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया