काठमाडौं । नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूले आइतबार सिंहनिवास चाक्सीबारीमा भेला भई पार्टीभित्रको वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरेका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतको सहभागीता रहेको उक्त बैठकको एजेन्डामा सभापति शेरबहादुर देउवाको स्वास्थ्य, आगामी केन्द्रीय समिति बैठक र पार्टीको एकता स्थापनासम्बन्धी विषय समावेश थियो।

advertisement

छलफलका क्रममा नेताहरूले महामन्त्री गगन थापाले विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलसहित विशेष महाधिवेशन प्रस्ताव अघि सार्न हस्ताक्षर अभियान सुरु गरेको विषयमा छलफल गरेका थिए। तर कहाँ र कसरी सदस्यहरूको हस्ताक्षर संकलन भइरहेको छ भन्ने विस्तृत विवरण खुलाइएको छैन।

जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलनका क्रममा सभापति देउवा दम्पतीमाथि घरभित्रै आक्रमण भएको थियो। हाल उनीहरू सैनिक अस्पतालमा उपचाररत छन्। पूर्वउपसभापति निधिले भने, ‘सभापतिज्यूको स्वास्थ्यलाभ भएपछि उहाँकै सभापतित्वमा केन्द्रीय समिति बैठक बस्नेछ। त्यहाँ भदौ २३ गतेको प्रदर्शनदेखि हालसम्मका घटनाक्रम समीक्षा गरी भावी रणनीति तय गरिनेछ।’

नेताहरूले पार्टीमा आन्तरिक एकताको महत्वमा जोड दिए। निधिले भने, ‘देशभरका कार्यकर्ता अब के हुन्छ भनेर चिन्तित छन्। चुनौतीहरू सम्बोधन गर्न पार्टी एकीकृत हुनुपर्छ र कार्यकर्तालाई बिचलित हुन दिइनु हुँदैन।’

पूर्वमहामन्त्री सिटौलाले पनि भने, ‘राष्ट्र संकटमा छ, यसको समाधान नेपाली कांग्रेसले दिनुपर्छ। त्यसका लागि आन्तरिक एकता आवश्यक छ। पार्टीलाई कमजोर पार्ने काम कसैले गर्नु हुँदैन।’

यसअघि प्रवक्ता महतले पत्रकारसँग कुरा गर्दै पार्टीमा रूपान्तरण र विशेष महाधिवेशनबारे भइरहेको बहसमा घाइते सभापतिमा घाउमा नुनचुक हाल्ने प्रवृत्ति रोकिनुपर्ने बताए। उनका अभिव्यक्ति विशेष गरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मातिर लक्षित रहेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com