काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रह नराखी जीर्ण बनेका विकास आयोजना ठेक्का नतोडिने स्पष्ट पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले भने, ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ। कम रकम कबोल गर्दा ठेक्का लिएमा घरबार जान्छ, बैंक जमानत जफत हुन्छ, पेनाल्टी लाग्छ भन्ने डर नभएसम्म काम हुँदैन। ठेक्का सम्झौता गर्ने तर लामो समयदेखि काम नगरी जीर्ण भएका आयोजना अब राख्न हुँदैन।’

advertisement

उनले बजेट उपलब्ध भएका आयोजनाहरू पनि निर्माण व्यवसायीले काम नगर्ने अवस्था देखिएको बताए। मन्त्री घिसिङले थपे, ‘म आफैं इन्जिनियर भएकाले ठेक्का प्रक्रियाको पूर्ण ज्ञान राख्छु। आयोजनातर्फबाट गर्नुपर्ने काम नगरेको भए पनि अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौं। तर पेनाल्टी हुँदैन, जे गरे पनि हुन्छ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ।’

विदेशमा सफल निर्माण कार्य गरिरहेका व्यवसायीहरू नेपालमा पनि तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न सक्षम रहेको भन्दै मन्त्री घिसिङले सन्देश दिएका छन्।

उनले जेनजी आन्दोलनपछिको सरकारले भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाएको स्मरण गर्दै भने, ‘निर्माण क्षेत्रमा अनियमिता र भ्रष्टाचार रहेका आम बुझाइ छ। देशको विकासमा योगदान गर्ने व्यवसायीप्रति हाम्रो सधैं सम्मान छ। निर्माण व्यवसायीहरूले पनि भ्रष्टाचार अन्त्य गर्न अग्रसर हुनुपर्छ।’

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com