काठमाडौं । गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य सुरक्षा निकायका लागि अरू केही हुन नसक्ने बताएका छन्। उनले सशस्त्र प्रहरीलाई अझ हौसला र तत्परताका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हल्चोकमा निरीक्षण भ्रमण गर्दै मन्त्री अर्यालले जेन–जी आन्दोलनका क्रममा प्राण गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले आगामी आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बललाई पूर्ण तयारीका साथ परिचालन हुन आह्वान गरे।
मन्त्री अर्यालले स्थापना कालदेखि सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजस्व संकलनमा सहयोगदेखि विपद् व्यवस्थापनसम्मको भूमिकामा सशस्त्र प्रहरीको योगदान प्रशंसनीय रहेको बताए। साथै, अवैध चोरीपैठारी, मानव बेचबिखन र लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरी समर्पित फौजका रूपमा स्थापित भएको उल्लेख गरे।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनले पाएको जनविश्वासलाई कायम राख्दै अनुशासित र कर्तव्यपरायण ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सीमा क्षेत्रमा जनशक्ति र बोर्डर आउट पोस्ट (बीओपी) को संख्या बढाउन सके राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा अझ प्रभावकारिता आउने विश्वास व्यक्त गरे।
महानिरीक्षक अर्यालले भविष्यमा हुन सक्ने आन्दोलन व्यवस्थापनलाई शान्तिपूर्ण बनाउन दंगा नियन्त्रणमा सक्षम विशेष इकाईको विकास, बख्तरबन्द गाडी, वाटर क्यानन र आधुनिक हतियारहरूको व्यवस्थापनमा मन्त्रालयको सहयोग अपेक्षित रहेको बताए।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सशस्त्र प्रहरीले प्रयोग गर्दै आएका आधुनिक उपकरणहरूको अवलोकन समेत गरेका थिए। कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीसहित उच्च सरकारी अधिकारी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया