काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारमा सुमना श्रेष्ठको चलखेलले ढिलासुस्ती भएको छ । पूर्व शिक्षामन्त्री श्रेष्ठले केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी हुन् ।

राजिनामा दिएको केही दिनमै उनी अप्रत्याशित रूपमा प्रधानमन्त्री कार्किको सपथ ग्रहण कार्यक्रममा देखिएकी थिइन्। श्रेष्ठ शिक्षा मन्त्री बन्ने चर्चाबीच प्रधानमन्त्री कार्कीले पार्टीका वा पार्टी पृष्ठभूमिका मान्छेलाई मन्त्रिपरिषद्‌मा नसमेट्ने प्रष्ट सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

advertisement

शिक्षा मन्त्री बन्ने चर्चा चले पनि सो पद हात पार्न नसकेकी उनले पछिल्ला दिनमा मन्त्रिपरिषद् विस्तारमा आफ्नो हैकम चलाएको बालुवटार निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यका अनुसार सुमना अधिकांश समय प्रधानमन्त्री निवास बालुवाटारमै रहने र बिहान र बेलुकाको समयमा मन्त्रीहरूको नाम छान्न सक्रिय छलफल गर्ने गरेकी छन् ।

सरकार गठनमा प्रधानमन्त्री कार्कीको सचिवालय र सहयोगीले मन्त्री परिषदमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त विज्ञ तथा जेन–जी युवाहरूको सिफारिसमा महानगरका मेयर बालेद्र शाहको सचिवालयले सहजीकरण गरेका योग्य व्यक्तिको नाम समेत कटौती गरेर श्रेष्ठले आफ्नो अनुकूल मानिने अनुहारहरूलाई मात्र अघि सारेको मेयर बालेनका एक सल्लाहकारले बताए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री कार्कीलाई कमजोर पारी श्रेष्ठले आफ्नो हैकम जमाएकी छन् । मन्त्री छनौटमा उनकै हालिमुहाली छ ।’

प्रधानमन्त्री कार्कीको आफ्नै सचिवालय र नजिकका सहयोगीहरूले अघि सारेका नाममा समेत सुमनाले हस्तक्षेप गर्ने गरेकी छन् । जसका कारण मन्त्रिपरिषद्का सदस्यहरू छान्न ढिलाई भएको बताइएको छ । श्रेष्ठको हैकमले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार निरिह भएको भन्दै आलोचना चर्किएको छ । जेन्जी आन्दोलनका संयोजक तथा अगुवाहरूले समेत श्रेष्ठको भूमिका शंकास्पद रहेको भन्दै उनी विरुद्ध समाजिक सञ्जालमा ह्यास्ट्र्याक समेत चलाउने तयारी गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा देखिएको अस्वाभाविक ढिलाइ, नाम कटौती र विवादास्पद छनौटले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । प्रधानमन्त्री कार्कीले एक निकट सहयोगीसँग यस्तै चलखेल भइरहे आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने समेत बताएकी थिइन् ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com