काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन–जी आन्दोलनले मुलुकमा सकारात्मक परिवर्तन ल्याएको बताएकी छिन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलिदानीपूर्ण युवा आन्दोलनका कारण भ्रष्टाचार र सुशासनको आवश्यकता पहिचान भएको र त्यसले देशमा सुधारको बाटो खोल्ने काम गरेको बताइन्। उनले भनिन्, ‘जेन–जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि होइन, देश र समाजमा सुशासन स्थापना होस् भन्ने उद्देश्यले आन्दोलन गरेको हो।’
भण्डारीका अनुसार आन्दोलनमा सहभागी युवाहरूले जागिर पाउँदा ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनु नपरोस् भन्ने माग राखेका थिए। उनले थपिन्, ‘उनीहरूले मागेका थिए खाली सुशासन होस् र भ्रष्टाचार अन्त्य होस्। त्यसैले आजका परिवर्तन उनीहरूको बलिदानीले सम्भव भएको हो।’
उनले जेन–जीहरूले आन्दोलन गर्दा सार्वजानिक सम्पत्तिमा कुनै नोक्सानी नगरेको पनि दाबी गरिन्। भण्डारीले अभिभावकहरूलाई अनुरोध गर्दै भनेकी छन्, ‘यी युवा आफ्ना लागि होइन, देशका लागि आन्दोलनमा उत्रेका थिए। हामीले उनीहरूको बलिदानको कदर गर्नुपर्छ।’
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया