काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले जेन-जी आन्दोलनलाई भ्रष्ट राजनीतिक संस्कृति र प्रवृत्तिमाथि प्रहारको रूपमा मूल्याङ्कन गरेका छन्।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा उनले भदौ २३ र २४ गते भएको आन्दोलनले दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र कमिसनतन्त्रजस्ता विकृतिहरूलाई उजागर गरेको बताए।
उनका अनुसार आन्दोलनले सरकार र राजनीतिक दलहरूले जनसरोकारका विषय उपेक्षा गरेको, परिवारवादमा फसेको, राजनीति सेवाभन्दा व्यवसायमा परिणत भएको र नेताहरू विलासी जीवनशैलीमा रमाएको जस्ता मुद्दा सशक्त रूपमा उठाएको छ।
शर्माले समस्याहरू कुनै बाह्य शक्तिबाट नभई दलहरूको स्वार्थकेन्द्रित गतिविधिबाट उत्पन्न भएको उल्लेख गरे। ‘हाम्रो पार्टीले पनि विगतमा उठाएका मुद्दाहरूलाई व्यवहारमा परिणत गर्न नसकेकाले जनता माओवादी र अन्य दलबीच खासै फरक देख्दैनन्। त्यसैले हामी बढी जिम्मेवार ठहरिन्छौं,’ उनले स्वीकार गरे।
उनले आत्मालोचना गर्दै जनतामाझ पश्चाताप गर्नुपर्नेमा जोड दिए। साथै, जेन-जी आन्दोलनले समस्या मात्रै देखाएको होइन, समाधानको बाटो पनि कोरेको भन्दै यसलाई अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरे।
‘अब सुशासन, समृद्धि र जनअपेक्षालाई आत्मसात् गर्न सोच, व्यवहार, नीति, संरचना र नेतृत्व प्रणालीसमेत परिवर्तन गर्नुपर्छ। पार्टीमा आमूल रूपान्तरणका लागि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनेतर्फ गम्भीर छलफल आवश्यक छ,’ शर्माले भने।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया