काठमाडौं । आम जनता पार्टी (आजपा)ले संविधान संशोधनका लागि १६ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रभु साहद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

प्रस्तावअनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचनमार्फत छान्नुपर्ने व्यवस्था गर्नुपर्नेछ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई पूर्ण समानुपातिक प्रणालीबाट निर्वाचित गर्नुपर्ने उल्लेख छ । यस्तै, स्थानीय तहको संख्या घटाएर बजेट बढाउने र तिनीहरूलाई कानुन बनाउने तथा कर लगाउने अधिकार संविधानबाट हटाउनुपर्ने धारणा पार्टीले अघि सारेको छ । स्थानीय तहको निर्वाचन पनि दलरहित बनाउनुपर्ने आजपाको माग छ ।

advertisement

आजपाले विदेशीलाई नागरिकता दिने प्रावधान अर्थात गैरआवासीय नागरिकताको व्यवस्था खारेज गर्नुपर्ने, प्रदेशलाई वास्तविक अधिकार सम्पन्न बनाउनुपर्ने, शासकीय तहमा कायम गरिएको समानुपातिक अधिकार प्रणाली र अनावश्यक संवैधानिक आयोग तथा संघीय संरचनाहरू हटाउनुपर्ने पनि जोड दिएको छ ।

पार्टीले देशका सबै भाषा र संस्कृतिलाई समान दर्जा दिनुपर्ने, भ्रष्टाचारविरुद्ध जननिगरानीको व्यवस्था, जनप्रतिनिधिलाई समयमै फिर्ता बोलाउने अधिकार (राइट टु रिकल) को प्रावधान, र न्यायालयलाई स्वतन्त्र, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने माग समेत अघि सारेको छ ।

कर प्रणालीबारे आजपाले सरकारले मनपरी कर लगाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, जीडीपीको २० प्रतिशतभन्दा बढी कर नलगाउने र देशको पुँजी विदेशमा लैजाने प्रचलन रोक्न कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com